रूपन्देही: अरबौंको लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको तीन वर्ष बितिसक्दा पनि पूर्ण र नियमित रुपमा सञ्चालन नहुँदा व्यवसायीहरु आक्रोशित बनेका छन्। उनीहरुले सरकार कानमा तेल हालेर बसेको भन्दै कडा आलोचना गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सभापति कृष्ण प्रसाद शर्माले पटकपटक विमानस्थल सञ्चालन हुनुपर्ने माग राखे पनि सुनुवाइ नभएको गुनासो गरे। "स्वर्गीय दीपक बोहराको पनि एअरपोर्ट सञ्चालन होस् भन्ने सपना थियो," उनले भने। काठमाडौं विमानस्थलमा चाप हुँदा भैरहवामा भने सुनसान रहेको उल्लेख गर्दै सबै राजनीतिक दलको चासो हो भने विमानस्थल सञ्चालन हुनुपर्ने बताए।
राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले विमानस्थल सञ्चालन नहुँदा उद्योगी-व्यवसायी संकटमा परेको बताइन्। "विमानस्थल सञ्चालन राजनीतिक मुद्दा भन्दा पनि विकासको मुद्दा हो," उनले भनिन्।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले अरबौं लगानी गरेर निर्माण गरेको विमानस्थलमा पछि निजी क्षेत्रले पनि सरकारले गरेको भन्दा दोब्बर लगानी गरेको बताए। उनले व्यवसाय झुण्डिने अवस्थामा पुगे पनि सरकार कानमा तेल हालेर बसेको गुनासो गरे।
"४१ अर्ब खर्च गरेर बनाइएको विमानस्थल सञ्चालन नहुनु देशको लागि लज्जास्पद विषय हो," नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले भने। उनले सरकारले विमानस्थल सञ्चालन गर्न नसक्ने भए अन्तर्राष्ट्रिय संस्थालाई दिनुपर्ने सुझाव दिए।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने भिषा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य परीक्षण केन्द्र, मेनपावर लगायतका पूर्वाधारहरु अविलम्ब निर्माण गर्नुपर्ने बताए।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्र बाटोमा आउनुपर्ने बिडम्बना रहेको बताए। "सरकारको काम व्यवसायीले गर्नुपर्ने अवस्था आएको छ," उनले भने।
व्यवसायी चन्द्र रोक्काले यो विमानस्थल सञ्चालनका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिए। पर्यटन व्यवसायी आशा गुरुङले एअरपोर्ट सञ्चालनका लागि विशेष समिति बनाउनुपर्ने र राप्रपाले पहल गर्नुपर्ने आग्रह गरिन्।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थलका बारेमा धेरैपटक छलफल भएको तर ठोस परिणाम नआएको बताए। "हामीले धेरै आशा गरेका थियौं, तर विमानस्थल बनेको तीन वर्ष बित्दा समेत पूर्ण रुपमा सञ्चालनमा नआउँदा व्यवसायीहरु निराश भएका छन्," उनले भने।
प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले राज्यले आश्वासन मात्र नदिई ठोस नीतिगत निर्णय गर्नुपर्नेमा जोड दिए। "अब आश्वासनको राजनीति होइन, कार्यान्वयनको समय आएको छ," उनले थपे।
स्थानीय व्यवसायीहरुले विमानस्थल सञ्चालनका लागि सरकारदेखि राजनीतिक दलहरुसम्म दबाब दिने रणनीति बनाउँदै गरेको जानकारी दिएका छन्।
From Facebook